Thursday, March 6, 2008

राजा जोगाउन कुन–कुन देशको पैसा?

काठमाडौं। राजालाई कसले जोगाउँदैछ? सबै दलका राजावादी नेताले, मधेसी फोरमले वा विदेशीले? को यसका गोटी हुन्? जसरी भए पनि राजा ज्ञानेन्द्र संविधानसभा भाँड्ने अभियानमा छन् भन्ने निष्कर्ष निकाले पनि 'कसरी?' जस्ता प्रश्नहरूको उत्तर नआइरहेकै बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजा जोगाउनमा सक्रिय हुनेहरूको विवरण सार्वजनिक गर्नुभएको छ।
आफ्नो पारिवारिक जमघटमा कोइरालाले अस्ति आइतबार बिहान साढे आठ बजे भावुक हुँदै भन्नुभयो– 'यिनीहरूको दबाबका कारण म अप्ठ्यारोमा छु।' आफ्नै छोरी सुजाताले राजा ज्ञानेन्द्रको खुला वकालत गरेकोमा प्रतिक्रियाविहीन प्रम कोइरालाले कांग्रेसभित्रका 'राजावादी नेताहरू' को दबाबको कुरा गर्नुभएको थिएन। उहाँले केही त्यस्ता नाम लिनुभयो, जसलाई हालसम्म नेपाली जनताले शंका पनि गरेका छैनन्। प्रम कोइरालाको सनसनीपूर्ण तर गोप्य खुलासा थियो– 'जापान राजा ज्ञानेन्द्रलाई जोगाउन जति खर्च गर्न पनि तयार छ।' राष्ट्रसंघीय सुर212ा परिषद्को अस्थायी सदस्यका निम्ति मत माग्दा तत्कालीन शाहीमन्त्री रमेशनाथ पाण्डेले द्वैध चाल चलेको भन्दै लोकतन्त्र घोषणाको पहिलो समर्थक जापानका तर्फबाट 'ठूलो दबाब' परिरहेको कोइरालाको खुलासा थियो।
जापानका अतिरिक्त कोइरालाले अमेरिका र भारत पनि राजा बचाउन सक्रिय भएको बताउनुभएको थियो। 'विदेशीले राजा बचाउन पैसाको खोलो बगाउँदैछन्,' कोइरालाले भन्नुभयो। भारत, अमेरिका, जापान खुलेरै आइसकेको उहाँले सुनाउनुभएको थियो। पारिवारिक स्रोतका अनुसार विदेशीले प्रम कोइरालालाई नेपालमा राजा ढले कम्युनिस्ट शासन आउने डर देखाएका छन्। प्रधानमन्त्रीले भन्नुभयो– 'राजा ढले भने नेपालमा कम्युनिस्ट ह्वात्तै बढ्छन् भन्ने विदेशीको विश्लेषण छ। मलाई भनेका छन्– राजा भएनन् भने ८० प्रतिशत नेपाली कम्युनिस्ट भइदिन्छन्।' अंग्रेजी र नेपाली मिसाएर बोल्दै प्रमले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओसमेत वाम बढ्ने कुरामा चिन्तित भएको बताउनुभयो। उहाँले सोही दिन दिउँसो कांग्रेसका दुईवटा श्रमिक संगठन मिलाउन आइएलओले ३३ हजार अमेरिकी डलर खर्च गरेको जानकारी पनि आफन्तजनलाई दिनुभएको थियो। 'जसरी पनि राजा बचाउनुपर्छ भन्छन्, कसरी बचाउँछन् के गर्छन् कुन्नि! तर, मैले बुझेको छु– राजाका निम्ति अब यहाँ पैसाको खोलो बग्छ' प्रमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
SOURCE: Janaaastha Weekly

No comments: