Friday, February 29, 2008

परिवर्तनका लागि यौन स्वतन्त्रता आवश्यक: नायिका विपना थापा

'एकैछिन है...' कुराकानीलाई बीचैमा रोकेर उनि ग्राहकको चित्त बुझाउँन तिर लागिन । यसको मोल यति, अनि त्यसको मोल त्यति । तपाईलाई यति छुट, फेरी पनि आउँनु ल । ग्राहकलाई विदा गरेपछी फेरी कुराकानीलाई अगाडी बढाइन । तर, कुराकानी भने ब्यपारबारे होइन, नेपाली सिनेमाबारे । हो, भाटभटेनी स्थित एक फेसन क्लबमा किनमेलका लागि छिर्नुयो भने विक्रेताका रुपमा नेपाली चलचित्रमा स्थापित एउटा अनुहार देख्नुहुने छ । उनि हुन नायिका विपना थापा । यिनै नायिकासँग फिल्मनेपाल डट कमले गरेको कुराकानीको अंश :

आजकलको ब्यस्तता के मा नि ?

निर्माणाधिन दुई सिनेमामा सलंग्न छु । भरखरै भाटभटेनीमा एउटा फेसन क्लब सुरु गरेकी छु ।
नायिकाकै रुपमा सँधै टिक्न सकिदैन भन्ठानेर फेसन-ब्यबसायतिर मन तानियो कि कसो ?
एउटा कारण त्यो पनि हो । तर, फेसनमा मेरो मन मात्र भरखरै तानिएको भने हैन । सय भन्दा बढि सिनेमामा म आफै फेसन डिजाइनरको रुपमा काम गरीसकेकी छु । नेपाली चलचित्रमा प्रयोग भईरहेको फेसनको शैली र स्तरमा चित्त बुझेन । सिने उद्योगको सुधारका लागि ब्यबसायिक रुपले मैलै थालेको प्रयास हो यो ।
सिने उद्योग ब्यापार मात्र हो वा यसको अरु सामाजिक भूमिका पनि छ ?
पक्कैपनि यो ब्यापार हो । सँगसँगै थुप्रै मान्छेको सोख र रहरसँग यसको सम्बन्ध छ । सजिलै मन छुन सक्ने सिनेमा कला क्षेत्रको सर्वोच्च बिद्या हो । खासगरी सर्वसाधरणको चेतनास्तर बृद्धिका लागि पनि यसले उत्तिकै भूमिका खेलेको हुन्छ ।१
३ वर्षदेखि नेपाली सिनेमासँग नजिक हुनुहुन्छ । यो बीचको परिर्वतनको गति कस्तो देख्नुभयो ?
ऊ बेला बनेका प्रायः सबै सिनेमा चल्थे । केही मार्मिक पक्ष समेटेपछि असफल हुने कुरा थिएन । तर, अहिलेका दर्शक स्तरियता खोज्छन् । यतिसम्मको स्तरियता की, नेपाली सिने उद्योगको स्रोत र साधनले नै थेग्न नसक्ने । त्यै पनि हामी दर्शकको मन जित्न प्रयत्नशिल नै छौं ।
नायिकाहरुलाई प्रायः ग्ल्यामर भूमिकामा उतार्ने चलन छ, गम्भिर वा महत्वूर्ण भूमिकामा कमै भेटिन्छ किन ?
ग्ल्यामर भन्ने शब्द नै केटी मान्छेसँग नजिक छ । नायिकालाई हेर्ने नजर नै अरुलाई भन्दा भिन्न हुन्छ । दर्शकले यस्तै आशा गर्छन जस्तो लाग्छ ।
ग्ल्यामरका नाउँमा पछिल्ला केही सिनेमामा नायिकाहरु अश्लिलतातर्फ उन्मुख भएको आरोप छ नि ।
मलाई त्यस्तो लाग्दैन । यो परम्परागत हेराई मात्र हो । म त यौनमा स्वतन्त्रता हुनपर्छ भन्ठान्छु । समाजको सकरात्मक परिवर्तनको एउटा बाटो यौन स्वतन्त्रता पनि हो भन्ठान्छु । यौनका बारेमा समाज खुल्ला हुदै जाँदा विगतमा भन्दा आजकल बलत्कार, हत्या जस्ता घटनामा कमी आएको छ ।
एक दशक पहिले नेपाली सिनेमामा जो-जो चर्चामा थिए । अहिले पनि उनिहरुकै नाम अगाडी आउँछ । यो क्षेत्रमा नयाँ प्रवेशी आर्कषण गुम्दै गएको हो ?
नयाँ प्रवेशीको संख्या साँच्चिकै कम छ । तर, सिनेमा क्षेत्रमा मात्र यो समस्या होइन । देशको विकासको गति नै सुस्त छ । यसमा असन्तोषजनक स्थिती भने छैन ।
नायिका भएर पनि विपना थापाले राजनीति गरेको भन्ने आरोप सुनिन्छ नि ।
सचेत नागरिकका हैसियतले देशको राजनीतिमा चासो राख्नु स्वभाविक छ । देशको दुर्दशाका हेर्न नसकेर आवाज उठाउँदा कसैले आरोप लगाउँछन् भने मेरो भन्नु केही छैन । साँच्चिकै भन्नुपर्दा धेरै नेपाली सिनेकर्मी राजनीतिक चेतनाबाट टाढा छन् र यस्तो कुरा उठाइराख्छन् । खराब ब्यबस्था र प्रवृति बिरुद्ध लाग्नुपर्छ ।
सक्रिय राजनीतिमा लाग्ने कुनै सोच छ कि ?
तत्कालैलाई त्यस्तो सोच छैन । तर, सरकारी संयन्त्रमा सिने उद्योगको प्रतिनिधित्व गर्नुपर्‍यो भने पछाडी हट्ने छैन । यतिसम्मकी भोली जनताले कलाक्षेत्रबाट मन्त्रीपरिषदमा प्रतिनिधित्व हुनुपर्‍यो भन्ने आवाज उठाए भने पनि त्यसका लागि तयार हुनुपर्छ । राजनीतिक दलका नेता जस्तै हामी पनि दर्शकको मन जितेका, जनताको मत पाएका प्रतिनिधी हौं ।
भरखरै चलचित्र सेन्सरबोर्डमा पाएको जिम्बेवारी त अस्विकार गर्नुभयो रे नि !
खासमा नेपाली चलचित्रका लागि नीति निर्माण गर्ने ठाउँ भनेको चलचित्र विकास वोर्ड हो । जताततै ३३ प्रतिशत महिला सहभागिताको कुरा चलिरहदाँ भरखरै विकास वोर्ड भएको नियुक्तिमा एकजना पनि महिला सहभागी गराईएन । मात्र भक्ता खाने ठाउँ (सेन्सर बोर्ड) मा जानु मैले उपयुक्त ठानिन् । मेरो भन्दा पनि सिने क्षेत्रमा कार्यरत नारीहरुको अपमान हो यो भन्ने ठानेकी छु ।
उसोभए सिनेक्षेत्रमा कार्यरत नारीहरु संगठित भएर विरोधमा लाग्नु परेन त ?
मैले त सबैसँग आहृवान गरेकी छु । तर, अहिलेसम्म वातावरण बनेको छैन । यसमा मिडियाले पनि केही भूमिका खेलिदिए हुन्थ्यो भन्ने लाग्छ ।
यस्तो सिनेमा बनाउन सकेहुन्थ्यो भन्ने कुनै विषयबस्तु मनमा खेलीराखेको छ की ?
स्वर किन्नरी तारादेवीको जीवनमा आधारित सिनेमा बनाउने र अभिनय गर्ने ठुलो रहर छ ।
आगामी लक्ष्यबारे बताईदिनुस् न ।
अहिलेसम्म आफु सफल कलाकार भएको अनुभुति भएको छैन । एउटा सफल कलाकार बनेर समाजमा उदहारण बन्न सकु भन्ने लाग्छ ।
SOURCE: filmnepal.com

No comments: